आगामी निर्वाचनमा जनताले परिवर्तनको पक्षमा ऐतिहासिक निर्णय गर्छन् : बुर्लाकोटी
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी निर्वाचनमा जनताले परिवर्तनको पक्षमा ऐतिहासिक निर्णय गर्ने दाबी गरेका छन्। उनले रास्वपाप्रति नागरिकको विश्वास र अपेक्षा निरन्तर बढिरहेको उल्लेख गर्दै स्थानीय तहदेखि संघीय तहसम्म पार्टीले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
मंगलबार हेटौँडामा आयोजित रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बुर्लाकोटीले किसान, श्रमिक तथा आमनागरिकले रास्वपालाई आशा र भरोसाको केन्द्रका रूपमा हेर्न थालेको बताए। परम्परागत राजनीतिक दलबाट अपेक्षित परिणाम प्राप्त नभएपछि नागरिकले नयाँ राजनीतिक विकल्प खोजेको र त्यसको केन्द्रमा रास्वपा रहेको उनको भनाइ थियो।
उनले जनताको अपेक्षाअनुसार काम गर्न पार्टी प्रतिबद्ध रहेको बताउँदै स्थानीय तहबाटै परिवर्तनको आधार निर्माण गर्नुपर्नेमा जोड दिए। योग्य, सक्षम र जनउत्तरदायी उम्मेदवारलाई अघि सार्न सके आगामी निर्वाचनमा जनताले अप्रत्याशित नतिजा दिने उनको विश्वास थियो।
“हामी व्यक्तिगत लाभका लागि होइन, देश र समाजको रूपान्तरणका लागि राजनीतिमा आएका हौँ,” उनले भने, “जनताको भरोसालाई परिणाममा बदल्ने जिम्मेवारी हाम्रो काँधमा छ।”
महामन्त्री बुर्लाकोटीले पार्टीभित्र जिम्मेवारी र अवसर वितरण गर्दा योग्यता, क्षमता, इमानदारिता र योगदानलाई प्राथमिक आधार बनाइने स्पष्ट पारे। उनले संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै जनअपेक्षाअनुसारको राजनीतिक अभ्यासलाई अघि बढाइने बताए।

पालिका संचारकर्मी 







