श्रमिकका गुनासा तत्काल सुनुवाइ गर्न श्रम मन्त्रालयमा ‘एक्सन कमान्ड सेन्टर’ सञ्चालन
काठमाडौं । श्रमिकका गुनासा, उजुरी र समस्याको छिटो समाधान गर्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘एक्सन कमान्ड सेन्टर’ (एसीसी) सञ्चालनमा ल्याएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको निर्देशनमा स्थापना गरिएको सेन्टरमा मन्त्रालयका उपसचिव उपेन्द्रराज पौडेलसहित पाँच जना कर्मचारी खटिएका छन्। सेन्टरले वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीका उजुरी, उद्धारका माग तथा आन्तरिक श्रम बजारका गुनासाहरूको तत्काल सुनुवाइ र समन्वय गर्ने जिम्मेवारी पाएको छ।
मन्त्रालयका अनुसार श्रमिकहरूले फोन, ह्वाट्सएप, इमेल वा प्रत्यक्ष उपस्थित भएर आफ्ना गुनासा दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। प्राप्त उजुरीहरूलाई आवश्यकताअनुसार सम्बन्धित निकायमा पठाइने र मन्त्रालयबाटै समाधान गर्न सकिने विषय तत्काल सम्बोधन गरिने जनाइएको छ।
एसीसीले वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलगायत निकायसँग समन्वय गर्दै समस्या समाधान प्रक्रिया अघि बढाउने जनाएको छ।
यद्यपि, मन्त्रालयमा सेन्टर स्थापना भएपछि केही वैदेशिक रोजगार व्यवसायीले असन्तुष्टि जनाएका छन्। उजुरीकै आधारमा व्यवसायीलाई मन्त्रालय बोलाउने र छलफल गर्ने कार्यले अनावश्यक दबाब सिर्जना भएको उनीहरूको आरोप छ।
व्यवसायीहरूको गुनासोप्रति प्रतिक्रिया दिँदै मन्त्रीको सचिवालयले श्रमिकलाई छिटो न्याय दिलाउने उद्देश्यले मात्रै सेन्टर सञ्चालन गरिएको स्पष्ट पारेको छ। मन्त्रीका स्वकीय उपसचिव सरोज यादवले व्यवसायीलाई दुःख दिने नभई पीडित श्रमिकका समस्या तत्काल समाधान गर्न संवाद र समन्वयको माध्यम अपनाइएको बताए।

पालिका संचारकर्मी 







