बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै
पालिका संचारकर्मी
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रदेशस्तरीय अधिवेशनको सुरुआत बागमती प्रदेशबाट गरेको छ। हेटौँडामा आजदेखि सुरु भएको बागमती प्रदेशको पहिलो अधिवेशनले नयाँ प्रदेश नेतृत्व चयन गर्नुका साथै आगामी राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सङ्गठनात्मक मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
हेटौँडा–१ स्थित हिमालयन दरबारमा आयोजित दुईदिने अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले गर्ने कार्यक्रम रहेको छ। यसअघि सभापति रवि लामिछानेले उद्घाटन गर्ने तय भए पनि उनको अनुपस्थितिपछि बुर्लाकोटीलाई जिम्मेवारी दिइएको हो।
रास्वपाका अनुसार अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएका करिब १ हजार ५०० प्रतिनिधिको सहभागिता रहनेछ। प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेले प्रदेशका अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको र सबै स्थानीय तहमा संगठन विस्तार भइसकेको जानकारी दिए।
अधिवेशनको मुख्य आकर्षण नयाँ प्रदेश नेतृत्व चयन हुनेछ। सभापति पदमा वर्तमान सभापति अच्युतम लामिछाने पुनः उम्मेदवार बन्ने तयारीमा छन्। त्यस्तै प्रदेश प्रवक्ता उत्सव अर्याल र धादिङका कृष्णमान श्रेष्ठले पनि सभापति पदमा दाबी प्रस्तुत गरेका छन्।
नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भए पनि विभिन्न पदमा एकभन्दा बढी आकांक्षी देखिएकाले निर्वाचन हुने सम्भावना बलियो बनेको छ। पार्टीभित्र नेतृत्वका लागि छुट्टाछुट्टै समूह सक्रिय भएको बताइन्छ।
विधानअनुसार अधिवेशनबाट ६५ सदस्यीय प्रदेश समिति चयन गरिनेछ। समितिमा सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्तालगायत पदाधिकारी रहने व्यवस्था छ।
रास्वपाले बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ भने सिन्धुपाल्चोकको अधिवेशन स्थगित रहेको छ। जिल्ला अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरूले प्रदेश नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
अधिवेशनमा संगठन विस्तार, सुशासन, भ्रष्टाचार नियन्त्रण, जनसरोकारका विषय तथा आगामी राजनीतिक रणनीतिबारे समेत व्यापक छलफल हुने पार्टीले जनाएको छ। रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।









