मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता जेठ ३१ गतेदेखि हुने

पालिका संचारकर्मी
२५ जेष्ठ २०८३, सोमबार १६:४०

मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय आठौं संस्करणको फुटसल रनिङ शिल्ड प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता आगामी जेठ ३१ गतेदेखि असार १ र २ गतेसम्म सञ्चालन हुने जनाएको छ।
प्रतियोगिताका खेलहरू मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित श्री भानु माध्यमिक विद्यालयको फुटसल मिनि पिच मा सञ्चालन गरिनेछन्। स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा खेलप्रति रुचि अभिवृद्धि तथा प्रतिभावान खेलाडीहरूको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
आयोजकका अनुसार प्रतियोगितामा गाउँपालिकाका आठवटै वडाबाट १६ वटा टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी हुने टोलीका लागि प्रति टोली रु. ५ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टोलीले रु. ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु. ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब रु. ५ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ वडा कार्यालयले रु. २ लाख ९० हजार बजेट विनियोजन गरेको छ भने बाँकी रकम विभिन्न संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूको सहयोगबाट जुटाइने जनाइएको छ।
पत्रकार सम्मेलनमा फुटसल रनिङ शिल्ड प्रतियोगिता खेलकुद समितिका अनुगमन समिति संयोजक विजय लामा थोकर ले प्रतियोगितासम्बन्धी जानकारी दिँदै खेलकुदमार्फत युवाहरूलाई सकारात्मक र सिर्जनशील गतिविधिमा जोड्ने तथा स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो।
प्रतियोगिताको मुख्य प्रायोजन मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ वडा कार्यालय ले गरेको छ भने प्रतियोगिताको आयोजना फुटसल रनिङ शिल्ड प्रतियोगिता खेलकुद समिति ले गरेको हो। आयोजकले प्रतियोगितालाई भव्य र सफल बनाउन सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवाला निकायहरूको सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।