हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनका लागि निःशुल्क शिक्षा योजना घोषणा
मकवानपुरको हेटौँडा–५ मा रहेको हेटौँडा सिटी कलेजले चारवर्षे स्नातक तहको Bachelor of Business Studies (BBS) कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि निःशुल्क अध्ययनको अवसर उपलब्ध गराउने भएको छ।
कलेजले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थाका विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त योजना सार्वजनिक गरेको हो।
कलेजका प्राचार्य श्री बहादुर कार्कीका अनुसार उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित ल्याइएको योजनाबाट निर्धारित मापदण्ड पूरा गर्ने विद्यार्थीहरूले BBS कार्यक्रममा निःशुल्क अध्ययन गर्न सक्नेछन्।
उनले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई यस कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यस्तै, कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) सुमन्ता सिल्वालले यो पहलले दक्ष जनशक्ति उत्पादन, सामाजिक उत्तरदायित्व प्रवर्द्धन तथा शैक्षिक पहुँच विस्तारमा सकारात्मक योगदान पुर्याउने बताए।
स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको हेटौँडा सिटी कलेजको यस निर्णयलाई शैक्षिक क्षेत्रले सकारात्मक र उदाहरणीय कदमका रूपमा लिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर तर अध्ययनप्रति रुचि भएका विद्यार्थीहरूका लागि यो योजना उच्च शिक्षा हासिल गर्ने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।
कलेजले कार्यक्रमको सफल कार्यान्वयनका लागि विद्यार्थी, अभिभावक, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहयोग र सहकार्यको समेत आग्रह गरेको छ।

पालिका संचारकर्मी 







