हेटौंडा पछिल्ला वर्षहरूमा बसोबासका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा पछिल्ला वर्षहरूमा बसोबासका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार तथा सहरी सुविधाको विस्तारसँगै देशका विभिन्न जिल्लाबाट यहाँ बसाइँ सर्ने परिवारको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ।
हेटौंडा उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका अनुसार पछिल्लो चार वर्षमा ३ हजार ३९५ परिवार बसाइँसराइमार्फत हेटौंडा भित्रिएका छन्। आर्थिक वर्ष २०७९/८० मा १ हजार २४ परिवार, २०८०/८१ मा ९५९, २०८१/८२ मा ८१९ तथा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म ५९३ परिवार हेटौंडामा स्थायी बसोबासका लागि आएका छन्।
यही अवधिमा १ हजार ९८५ परिवार भने अन्यत्र बसाइँ सरेर गएका छन्। उपमहानगरका तथ्यांकले बाहिरिनेभन्दा भित्रिने परिवारको संख्या निकै बढी रहेको देखाउँछ।
बसाइँ सरेर आउनेमध्ये अधिकांश परिवार बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लाका छन्। उनीहरूले विशेषगरी वडा नम्बर ४, ५, ७ र ८ लाई बसोबासका लागि रोज्ने गरेका छन्।
निजगढबाट हेटौंडा–८ कमानेमा बसाइँ सरेका बालकृष्ण न्यौपानेले अध्ययनका लागि हेटौंडा आएको र पछि रोजगारी तथा अन्य सुविधा सहज भएपछि परिवारसहित यतै बस्न थालेको बताए। पर्साबाट हेटौंडा–७ हरियालीमा बसाइँ सरेकी सीता कार्की श्रेष्ठले पनि छोराछोरीको शिक्षा, श्रीमान्को रोजगारी र अनुकूल वातावरणका कारण हेटौंडा रोजेको बताइन्।
मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक उमेश अर्यालका अनुसार प्रदेश राजधानी बनेपछि हेटौंडामा अवसर खोज्दै आउनेको संख्या बढेको हो। उनका अनुसार शिक्षा, स्वास्थ्य, व्यापार, रोजगारी तथा सुरक्षित बसोबासको खोजीमा आउनेहरूका कारण जनघनत्व निरन्तर बढिरहेको छ।
तराई र पहाडको बीचमा रहेको भौगोलिक अवस्थिति, तुलनात्मक रूपमा अनुकूल मौसम र सहरी पूर्वाधारको विस्तारले पनि हेटौंडाप्रतिको आकर्षण बढाएको विज्ञहरूको भनाइ छ।
बढ्दो जनसंख्यासँगै पूर्वाधार र सेवा प्रवाहमा चुनौती थपिए पनि उपमहानगरले त्यसअनुसार योजना अघि बढाएको जनाएको छ। मेयर मीनाकुमारी लामाका अनुसार विद्यालय विस्तार, स्वास्थ्य सेवाको पहुँच वृद्धि र व्यवस्थित आवास विकासलाई प्राथमिकता दिँदै काम भइरहेको छ। उपमहानगरका सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा रहेको र केही वडामा अस्पताल सेवा समेत विस्तार गरिएको उनले जानकारी दिइन्।

पालिका संचारकर्मी 







