केरलामा पुगेको मनसुनको गति सुस्त, नेपाल भित्रिने मिति अनिश्चित

पालिका संचारकर्मी
१४ जेष्ठ २०८३, बिहीबार १५:५५

औसत समयभन्दा ६ दिनअघि भारतको केरलामा पुगेको मनसुनी वायु अहिले भने सुस्त गतिमा अघि बढिरहेको छ । मौसमविद्का अनुसार पश्चिमी वायुले प्रभाव पार्दा मनसुनको गति कमजोर बनेको हो ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलका अनुसार दक्षिणी बङ्गालको खाडी क्षेत्रमा मनसुन कमजोर बनेकाले नेपाल प्रवेश गर्ने मिति अहिले नै निश्चित गर्न कठिन भएको छ ।

सामान्यतया मे ३० मा केरलामा पुगेको मनसुन करिब १२ दिनपछि नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने गर्दछ । यस वर्ष भने मनसुन मे २४ मै केरलामा पुगेको थियो । सुरुआती चरणमा तीव्र गतिमा अघि बढेको मनसुन पछिल्ला केही दिनदेखि सुस्त बनेको मौसमविद्ले बताएका छन् ।

गत वर्ष मनसुन औसतभन्दा १५ दिनअघि नेपाल भित्रिएको थियो । अहिले नेपालमा भने पश्चिमी वायु सक्रिय हुँदा विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

यस वर्ष प्रि–मनसुन अवधिमा औसतभन्दा धेरै वर्षा भएको विभागको तथ्यांक छ । जल तथा मौसम विज्ञान विभागका अनुसार फागुन १७ देखि जेठ १७ सम्म सामान्यतया २२६ मिलिमिटर वर्षा हुने भए पनि यसपालि २८६ मिलिमिटर पानी परिसकेको छ । यो औसतभन्दा करिब १२५ प्रतिशत बढी हो ।

यद्यपि प्रि–मनसुनमा धेरै पानी परे पनि यस वर्षको मनसुनमा भने औसतभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान गरिएको छ ।