अन्तरराष्ट्रिय सम्बन्धलाई विकास र समृद्धिसँग जोड्छौँ : परराष्ट्रमन्त्री खनाल

पालिका संचारकर्मी
१४ जेष्ठ २०८३, बिहीबार १५:१६

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई राष्ट्रिय हित, आर्थिक समृद्धि र विकाससँग जोडेर प्रभावकारी रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिका–९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको कूटनीतिक सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तरराष्ट्रिय संस्थासँगको आर्थिक, सांस्कृतिक र रणनीतिक सहकार्यमा आधारित रहेको उल्लेख गरे ।

उनले नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको बताउँदै संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य–मान्यताअनुसार परराष्ट्र नीति सञ्चालन भइरहेको बताए ।

मन्त्री खनालका अनुसार नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु हो ।

उनले परराष्ट्र मन्त्रालयभित्रको ढिलासुस्ती अन्त्य गर्दै नागरिकलाई छिटो सेवा उपलब्ध गराउन आफू लागिपरेको बताए । राहदानी वितरण प्रणालीलाई सहज बनाइएको उल्लेख गर्दै उनले अहिले आवेदन दिएको दुई–तीन दिनमै राहदानी उपलब्ध गराउन सकिने अवस्था बनेको जानकारी दिए ।

विदेशमा रहेका नेपालीको समस्यालाई सम्बोधन गर्न ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको पनि उनले बताए । उक्त एपमार्फत विदेशमा समस्यामा परेका नेपालीले सिधैँ गुनासो दर्ता गर्न सक्ने र त्यसको अनुगमन मन्त्रीस्तरबाटै हुने व्यवस्था गरिएको उनको भनाइ थियो ।

मन्त्री खनालले सरकारको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार काम भइरहेको बताउँदै २०६३ पछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन तथा पुराना भ्रष्टाचारका फाइल पुनः खोल्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । फजुल खर्च नियन्त्रण गर्न मन्त्रालयको संख्या घटाइएको पनि उनले बताए ।

गोँगबु क्षेत्रमा जमिनमुनिको पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले शिवपुरी जलाधार क्षेत्रको पानी व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।

त्यस्तै, चीनसँग चक्रपथ विस्तारसम्बन्धी सम्झौता भइसकेकाले अब निर्माण कार्यले गति लिने तथा गोँगबु क्षेत्रको अव्यवस्थित पार्किङ हटाउन ट्राफिक प्रहरीसँग समन्वय गरी काम सुरु गरिने उनले बताए ।

कार्यक्रममा टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले गोँगबु–टोखा क्षेत्रका समस्याको समाधानका लागि सङ्घीय सरकारसँग सहकार्य भइरहेको बताएका थिए ।