बैतडीमा जेसीबीको ठक्करबाट उपभोक्ता समिति अध्यक्षको मृत्यु
पालिका संचारकर्मी
बैतडीमा सडक निर्माणका क्रममा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर बोहराको बिहीबार बिहान दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब पौने ९ बजे सल्लेरी–काटेइ ग्रामीण सडक निर्माण भइरहेको समयमा जेसीबीको बकेटले ठक्कर दिँदा बोहरा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा बिहान ११ः४० बजे डडेलधुरा अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
मृतक बोहरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ ।
घटनापछि जेसीबी चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का २५ वर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








