जनताको जीवनस्तर सुधार सरकारको मुख्य प्राथमिकता : प्रधानमन्त्री बालेन्द्र शाह

पालिका संचारकर्मी
१२ जेष्ठ २०८३, मंगलवार १५:५२

बालेन्द्र शाह ले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा आयोजित भेटवार्तामा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (ईयू) तथा सदस्य राष्ट्रका राजदूतहरूसँग कुरा गर्दै प्रधानमन्त्री शाहले वर्तमान समयको चुनौती र जिम्मेवारीप्रति सरकार पूर्ण रूपमा सचेत रहेको बताएका हुन् ।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल का अनुसार प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गर्दै सरकार परिवर्तन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे ।

उनले लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता र पारदर्शी शासन प्रणालीप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाललाई लगानीमैत्री बनाउने दिशामा काम भइरहेको बताए । “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन,” प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै दाहालले बताइन् ।

प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटनलगायत क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउने सरकारको योजना रहेको पनि बताए । उनले विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्ति स्थापनाका लागि संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

भेटमा सहभागी ईयू तथा अन्य देशका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै नयाँ सरकारलाई बधाई दिएका थिए । उनीहरूले नेपालसँग आर्थिक विकास, लगानी र समृद्धिका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको धारणा राखेका थिए ।