हेटौँडा स्थित चौकीटोलमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु

पालिका संचारकर्मी
१२ जेष्ठ २०८३, मंगलवार १५:०२

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित तरकारी मण्डी क्षेत्रमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका–३ घर भई हाल चौकिटोलमा डेरा गरी बस्दै आएका अन्दाजी ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी ४२ वर्षीया श्रीमती ओमकुमारी भुजेलमाथि कुटपिट गरेका थिए । घटनामा गम्भीर घाइते भएकी भुजेललाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो ।

प्रहरीका अनुसार आज बिहान करिब १०ः३० बजे घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी चौकिटोलबाट टोली खटिएको थियो । उपचारकै क्रममा बिहान ११ बजे चिकित्सकले भुजेललाई मृत घोषणा गरेका हुन् ।

मृतकको मुख, दुवै हातखुट्टा र ढाडमा निलडाम चोट देखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रामलाल ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर मा राखेर थप अनुसन्धान अघि बढाएको छ ।