रचना रिमालको स्वरमा ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक

पालिका संचारकर्मी
१२ जेष्ठ २०८३, मंगलवार १३:४३

देशव्यापी प्रदर्शनमा रहेको नेपाली फिल्म काजी ले आफ्नो नयाँ असारे गीत ‘ज्यानको तिर्खा’ युट्युबमार्फत सार्वजनिक गरेको छ । गीतमा प्रशान्त सिवाकोटी को शब्द तथा संगीत रहेको छ भने स्वरमा रचना रिमाल र स्वयं सिवाकोटी रहेका छन् ।

सार्वजनिक गीतको भिडियोमा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा तथा सन्दीपबाबु लोहनी लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ । रोपाइँको परिवेशमा तयार पारिएको भिडियोमा कविराज गहतराज को कोरियोग्राफी समावेश गरिएको छ ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ । फिल्म प्रचारमा व्यस्त अभिनेता विपिन कार्की अहिले विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।

हल भ्रमणका क्रममा धेरै दर्शकले ‘काजी २’ निर्माण गर्नुपर्ने माग गरिरहेको बताउँदै कार्कीले दर्शकको माया र साथ रहे सिक्वेल बन्न सक्ने संकेत दिएका छन् ।

रिजाल एन्ड रिजाल प्रोडक्सन को ब्यानरमा निर्माण भएको फिल्ममा रामप्रसाद रिजाल को प्रस्तुति रहेको छ । ग्रामीण परिवेश, सम्बन्ध र भावनात्मक कथावस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मका निर्मातामा नेहान रिजालविकासराज जोशी रहेका छन् ।