‘लालीबजार’ तेस्रो सातामा, ५ करोड २५ लाख ग्रस कलेक्सन

पालिका संचारकर्मी
८ जेष्ठ २०८३, शुक्रबार १४:४६

लालीबजार प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हालसम्म ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनी षट्कोण आर्ट्स ले जनाएको छ।

कम्पनीका सिइओ तथा निर्माता म्याक्स दीपेश खत्री का अनुसार फिल्मले जेठ ७ गते राति ११ः५९ बजेसम्म उक्त आम्दानी गरेको हो।

उनले फिल्मले देशभर दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए। “आमा र छोरीको कथामार्फत शिक्षाको महत्व प्रस्तुत गरिएको फिल्मलाई दर्शकले आत्मीय रूपमा ग्रहण गर्नुभएको छ,” उनले भने। विदेशमा रहेका सन्तानले आफ्ना अभिभावकलाई फिल्म हेर्न पठाउनेदेखि स्वदेशमै रहेका छोरीहरूले आमालाई हलसम्म ल्याउने गरेको उनले उल्लेख गरे।

फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का ले पनि देशभर दर्शकको उत्साहजनक साथ पाइएको बताइन्। उनका अनुसार पूर्वदेखि पश्चिमसम्मका दर्शकले फिल्मलाई समान रूपमा रुचाएका छन्।

निर्माण पक्षका अनुसार पहिलो साताको तुलनामा दोस्रो सातामा करिब १० प्रतिशत बढी दर्शकले फिल्म हेरेका छन्। दर्शकहरूले विशेषगरी फिल्मको विषयवस्तु, निर्देशन तथा कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।

फिल्म हेरेर बाहिरिने धेरै दर्शकले आमाको संघर्षसँग आफूलाई जोडिएको अनुभव भएको प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएको छ। सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण आगामी दिनमा पनि फिल्मको व्यापार उत्साहजनक रहने अपेक्षा गरिएको छ।