एमाले सचिवालय बैठक सुरु, कार्य विभाजन टुंग्याउने तयारी
पालिका संचारकर्मी
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको छ। बैठकमा पार्टी नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिने तयारी गरिएको छ।
गत पुसमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन अहिलेसम्म हुन सकेको थिएन। अध्यक्ष ओलीले अघि सारेको प्रस्तावमा केही नेताहरूलाई दोहोरो तथा तेहेरो जिम्मेवारी दिने उल्लेख गरिएको बताइएको छ।
बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको विषयमा केही नेता–कार्यकर्ताले चलाइरहेको अभियानबारे पनि छलफल हुने बुझिएको छ। अध्यक्ष ओलीले असफलताको जिम्मेवारी लिएर पद छाड्नुपर्ने माग गर्दै केही समूहले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका छन्।
यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को पार्टीभित्रको जिम्मेवारीबारे पनि बैठकमा चर्चा हुने सम्भावना रहेको छ। सोमबारको बैठकमा अध्यक्ष ओलीले भण्डारीको सदस्यता खुला गर्ने जानकारी गराएका थिए। अब उनलाई पार्टीमा कुन भूमिका दिइन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।








