भदौ २३ का सहिद सम्झिँदै संसदमा भावुक बने सोम शर्मा

पालिका संचारकर्मी
७ जेष्ठ २०८३, बिहीबार १४:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मा ले आफू सत्तापक्ष वा प्रतिपक्षको नभई ‘जेनजी’ पुस्ताको आवाज बनेर संसदमा उभिएको बताएका छन् ।

भदौ २३ गते भएको दमन र त्यस क्रममा ज्यान गुमाएका सहिदहरूको स्मरणमा बिहीबार संसदको विशेष समयमा बोल्दै उनले भावुक सम्बोधन गरेका हुन् ।

जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी रहेका शर्माले आफ्नै काखमा अन्तिम सास फेरेका सहिद सुलभ राज श्रेष्ठ र बागलुङका सहिद सौरन किशोर श्रेष्ठलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरे । साथै आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गरे ।

आन्दोलनको दिन सम्झँदै उनले भने, “त्यही दिन चलेको गोलीको दाग बोकेर म आज यो संसदमा उभिएको छु । सायद केही इन्च मात्रै फरक परेको भए आज म सांसद होइन, सहिदको तस्बिरभित्र सीमित हुने थिएँ ।”

सांसद शर्माले आन्दोलनकारी युवामाथि गोली चलाइएको विषयमा सरकारसँग जवाफ माग्दै कडा प्रश्न उठाए । उनले भने, “हामीमाथि गोली किन चलाइयो ? ती अबोध युवाहरू कुन अपराधमा मारिए ? र हामीमाथि अन्धाधुन्ध गोली चलाउने तथा आदेश दिनेहरू आज कहाँ छन् ?”

आफ्ना सन्तान गुमाएका आमाबाबुले अझै पनि राज्यबाट उचित जवाफ नपाएको उल्लेख गर्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

“सत्यता र उत्तरको प्रतीक्षामा रहेका परिवारहरूले न्याय नपाई यो संसार छोड्नुपर्ने अवस्था नआओस्,” उनले भने ।

सांसद शर्माले संसदमार्फत सरकारलाई पीडित परिवारका प्रश्नको जवाफ दिन र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।