विभिन्न जिल्लामा लागुऔषधसहित पाँच जना पक्राउ

पालिका संचारकर्मी
६ जेष्ठ २०८३, बुधबार १२:१२

काठमाडौं, उदयपुर, सप्तरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जनाबाट ट्रामाडोल ट्याब्लेट, तीन जनाबाट गाँजा तथा एक जनाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रहरीले १४० ट्याब्लेट ट्रामाडोलसहित २४ वर्षीय प्रकाश दर्जी लाई पक्राउ गरेको छ । उनी बल्खु क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–४ तितिरेबोटबाट करिब ६ किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिलादेवी रामअस्मिता राम रहेका छन् । उनीहरू सवार बोलेरो गाडी जाँच गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सप्तरीको सप्तकोशी नगरपालिका–१ बाट १३ किलो २५० ग्राम गाँजासहित २१ वर्षीय विजय कुमार यादव पक्राउ परेका छन् । घटनामा संलग्न अर्का एक फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

झापाको कनकाई नगरपालिका–३ कालीस्थान चोकबाट ४ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चन्द्र बहादुर पौडेल लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सबै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।