नाइजेरियाको ओयो राज्यमा विद्यालयमा आक्रमण, ४६ जना अपहरण; उद्धार प्रयास जारी

पालिका संचारकर्मी
५ जेष्ठ २०८३, मंगलवार १४:५५

नाइजेरियाको दक्षिण–पश्चिमी ओयो राज्यमा सशस्त्र समूहले विद्यालयहरूमा आक्रमण गरी ४६ जनालाई अपहरण गरेको छ। अपहरितमध्ये ३९ विद्यार्थी र ७ जना शिक्षक रहेको अधिकारीहरूले जनाएका छन्।

गत शुक्रबार अहोरो एसिनेले क्षेत्रमा भएको समन्वित आक्रमणमा आक्रमणकारीहरूले एक माध्यमिक विद्यालय र दुई प्राथमिक विद्यालयलाई एकैसाथ निशाना बनाएको बताइएको छ। घटनाबारे जानकारी दिँदै नाइजेरियाको क्रिश्चियन एसोसिएसनका ओयो राज्य अध्यक्ष एलिशा ओलुकायोडे ओगुन्डियाले अपहरित सबै दुईदेखि १६ वर्ष उमेर समूहका बालबालिका रहेको पुष्टि गरेका छन्।

घटनापछि नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आक्रमणको कडा निन्दा गर्दै यसलाई बर्बर भन्दै सुरक्षित उद्धारका लागि संघीय सरकार र राज्य प्रशासन संयुक्त रूपमा सक्रिय रहेको बताएका छन्। उनले छिट्टै सकारात्मक प्रगति हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

ओयो राज्यका गभर्नर ओलुसेई अबियोडुन माकिन्डेले अपहरणसँग सम्बन्धित एक शिक्षकको आइतबार हत्या भएको पुष्टि गरेका छन्। साथै, घटनामा संलग्न रहेको आशंकामा छ जना व्यक्तिलाई पक्राउ गरिएको छ, जसमा अपहरणकारीलाई सूचना र रसद सहयोग गर्नेहरू पनि रहेका छन्।

उद्धार अभियानका क्रममा सेना, प्रहरी र स्थानीय सुरक्षा समूह परिचालन गरिएको छ। तर अपहरणकारीहरूले बाटोमा राखेका विस्फोटक पदार्थका कारण भएको आक्रमणमा केही सुरक्षाकर्मी घाइते भएका छन्, जसको उपचार भइरहेको राज्य सरकारले जनाएको छ।

सरकारले सबै अपहरितको सुरक्षित र छिटो उद्धारका लागि प्रयास जारी राखिएको जनाएको छ।एजेन्सी