सभामुखसँग विवादपछि हर्क साम्पाङ प्रतिनिधिसभा बैठकबाट बाहिरिए
प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकमा समय माग्ने विषयलाई लिएर सभामुख डोलप्रसाद अर्याल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) बीच चर्को बहस भएको छ। समय नपाएपछि उनी बैठक छाडेर बाहिरिएका छन्।
बैठकका क्रममा बीचमै उठेर साम्पाङले आकस्मिक समय माग गरेका थिए। तर सभामुख अर्यालले प्रक्रिया अनुसार विषय स्पष्ट नभएको भन्दै समय दिन अस्वीकार गरे।
सभामुखले उनलाई लक्षित गर्दै “माननीय सदस्य, मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन, बस्नुस्” भनेपछि विवाद थप चर्किएको थियो। त्यसपछि पनि साम्पाङले बोल्न खोजेपछि सभामुखले आकस्मिक, शून्य वा विशेष समय कुन हो र कुन विषयमा बोल्ने हो भन्ने स्पष्ट गर्न आग्रह गरेका थिए।
तर स्पष्ट सहमति नजुटेपछि सभामुखले उनलाई पुनः आसनमा बस्न निर्देशन दिए पनि बहस रोकिएन। सभामुखले समय नदिएपछि पनि साम्पाङले आफ्नो धारणा राख्दै संसदीय अभ्यास र नियमप्रति असन्तुष्टि जनाए।
उनले संसदमा प्रतिपक्षलाई बोल्ने अवसर सीमित गरिएको आरोप लगाउँदै सत्तापक्षले काम गर्ने र प्रतिपक्षले प्रश्न उठाउने वातावरण कमजोर बनाइएको दाबी गरे। साथै, उनले संसद बैठकमा सांसदहरूको कम उपस्थिति देखिएको भन्दै अनुपस्थित सांसदमाथि कारबाही हुनुपर्ने माग पनि गरे।
“यो कुर्सी खाली छ, आधाभन्दा बढी खाली छन्,” भन्दै उनले असन्तुष्टि व्यक्त गरेपछि अन्ततः उनी बैठकबाट बाहिरिएका हुन्।

पालिका संचारकर्मी 







