फिल्म ‘जलाकी’को छायांकन सकियो, पोस्ट–प्रोडक्सन सुरु

पालिका संचारकर्मी
५ जेष्ठ २०८३, मंगलवार १४:४५

फिल्म ‘जलाकी’को सम्पूर्ण छायांकन पूरा भएको छ। पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिन लामो सुटिङ सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ। छायांकन सकिएसँगै फिल्मको पोस्ट–प्रोडक्सन काम पनि सुरु भइसकेको निर्देशक अशोक थापा मगरले जानकारी दिएका छन्।

निर्देशक थापाका अनुसार केही दिनभित्रै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी छ। उपासना सिंह ठकुरी मुख्य भूमिकामा देखिने यस फिल्ममा उनले निर्देशकसँग ‘खुस्मा’पछि दोस्रो पटक सहकार्य गरेकी हुन्। ‘खुस्मा’बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी थिइन्।

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘जलाकी’मा उपासनासहित सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर र राज काउचा मगरलगायत कलाकारको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् भने बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई र रिन्ची धनाहा मगर रहेका छन्।

यसै फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली चलचित्रमा डेब्यु गरेकी छन्। मगर समुदायको आस्थासँग जोडिएको ‘जलाकी’ शब्दलाई प्रतीकात्मक आधार बनाएर निर्माण गरिएको फिल्मले प्रेम र सम्झनाको कथालाई प्रस्तुत गर्ने बताइएको छ।

रुकुम, रोल्पा, म्याग्दी, बागलुङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मले मगर तथा गुरुङ समुदायको संस्कृति झल्काउने निर्माण पक्षको दाबी छ। एम मिडिया प्रालिको ब्यानरमा बनेको फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

फिल्ममा शैलेन्द्र डी. कार्कीको छायांकन, राजु रेग्मी मगरको लाइन प्रोडक्सन र महेश बरालको मुख्य सहायक निर्देशन रहेको छ। संगीतमा एसडी योगी र सरित राईको योगदान छ भने गीत लेखनमा सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्ट संलग्न छन्।

यसअघि निर्देशक अशोक थापा मगरको डेब्यु फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युबमा १० करोडभन्दा बढी भ्युजसहित लोकप्रिय बनेको थियो। निर्माण टिम ‘जलाकी’लाई पनि त्यस्तै सफलतासहित अघि बढाउने आशामा छ।