प्रतिनिधिसभामा ऊर्जा, महिला उत्थान र डिजिटल विकासबारे सांसदहरूको जोड

पालिका संचारकर्मी
५ जेष्ठ २०८३, मंगलवार १४:४३

प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले देशको विकास, सामाजिक न्याय र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जा बिना विकास असम्भव हुने भन्दै तत्काल ‘सनसेट ऐन’ ल्याएर कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे। सांसद भूमिका सुब्बाले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई नीति तथा कार्यक्रममा अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड दिइन्।

त्यसैगरी, सांसद धनबहादुर बुढाले डोल्पालाई पूर्ण रूपमा डिजिटल र इन्टरनेटमैत्री बनाउने माग राखे। सांसद सरस्वती लामाले महँगीले जनजीवन कठिन बनाएको भन्दै सरकारले सामाजिक जिम्मेवारी अझ प्रभावकारी रूपमा बहन गर्नुपर्ने बताइन्।

सांसद केपी खनालले सुकुम्बासीलाई दुर्गन्धित खोला क्षेत्रबाट हटाएर व्यवस्थित बसोबासको व्यवस्था गरिएको उल्लेख गरे भने सांसद प्रकाशचन्द्र परियारले समृद्धिसँगै समानतामूलक विकास आवश्यक रहेको धारणा राखे।

यसैगरी, विभिन्न दलका सांसदहरू आनन्द चन्द, देवराज पाठक, यज्ञबहादुर बोगटी, अम्बिकादेवी सङ्ग्रौला, विष्णुबहादुर खड्का र सुलभ खरेलले पनि आ–आफ्ना धारणा संसद्मा राखेका थिए।