एसईई नतिजामा बालजागृतिको लगातार सफलता, दुई जनाले ४ जीपीए

पालिका संचारकर्मी
१ जेष्ठ २०८३, शुक्रबार १५:४२

हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले यस वर्षको एसईईमा शतप्रतिशत नतिजा हासिल गर्दै सफलता उत्सव मनाएको छ। नतिजापछि शुक्रबार बिहान विद्यालय परिसरबाट खुसियाली र्‍याली निकालिएको हो।

एसईईमा सहभागी १०२ विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन्। जसमध्ये २ जनाले ४ जीपीए हासिल गरेका छन् भने ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४६ जना रहेका छन्।

त्यस्तै ४७ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए र ७ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका विद्यालयले जनाएको छ।

विद्यालयले ४ जीपीए ल्याउने देविना सञ्जेल र रेनिसा सापकोटालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। प्रिन्सिपल विनोद सुवेदीले जनही १०–१० हजार रुपैयाँ प्रदान गरेका छन् भने विद्यालय व्यवस्थापनले थप ३५ हजार रुपैयाँ प्रदान गरेको छ। साथै, भाइस–प्रिन्सिपल अमूल श्रेष्ठले दुवै विद्यार्थीलाई पुस्तक उपहारसमेत दिएका छन्।

खुसियाली र्‍यालीमा शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो। पञ्चेबाजासहितको र्‍याली हेटौँडा बजार परिक्रमा गर्दै उपमहानगरपालिका कार्यालयसम्म पुगेको थियो।

बालजागृति स्कूलले लगातार २०८० र २०८१ सालको एसईईमा पनि शतप्रतिशत नतिजा हासिल गर्दै निरन्तर सफलता कायम राखेको छ।