सरकारी खर्च कटौती गर्न नयाँ निर्देशन, अत्यावश्यकबाहेक खरिद नगर्न परिपत्र
पालिका संचारकर्मी १ जेष्ठ २०८३, शुक्रबार १३:४९
सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन र अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सबै निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय तथा प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूलाई परिपत्र जारी गर्दै खर्च नियन्त्रण गर्न आग्रह गरेको हो।
परिपत्रमा मौजुदा औजार, उपकरण, फर्निचर तथा सवारीसाधनलाई यथावत् सञ्चालनमा राखेर सार्वजनिक खर्च न्यूनीकरण गर्न भनिएको छ। अत्यावश्यकबाहेक कुनै पनि नयाँ सामग्री खरिद नगर्न स्पष्ट निर्देशन दिइएको छ।
सरकारले चालु खर्च घटाउने र उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्ने उद्देश्यसहित यस्तो नीति लागू गरिएको जनाएको छ।









