देशभरका अस्पताललाई जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानहरूलाई आफ्नो स्वामित्वमा रहेका जग्गा तथा भौतिक संरचना संरक्षण गर्न तत्काल कदम चाल्न निर्देशन दिएको छ।
मन्त्रालयले परिपत्र जारी गर्दै अस्पतालका जग्गा अतिक्रमण भएको छ कि छैन भन्नेबारे विस्तृत विवरण तयार गर्न र लगत अद्यावधिक गर्न निर्देशन दिएको हो।
निर्देशनअनुसार जग्गाको साँध–सिमाना स्वीकृत नक्सासँग मिल्छ कि मिल्दैन भन्ने यकिन गर्नुपर्नेछ। यदि अनधिकृत संरचना वा अतिक्रमण फेला परे सम्बन्धित व्यक्ति वा संस्थालाई समयसीमा तोकी हटाउन लिखित सूचना दिनुपर्नेछ।
सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउनुपर्ने मन्त्रालयको निर्देशन छ।
भविष्यमा पुनः अतिक्रमण नहोस् भनेर खाली जग्गामा घेराबार गर्न र सुरक्षा व्यवस्था कडा बनाउन पनि भनिएको छ।
मन्त्रालयले जग्गासम्बन्धी लालपुर्जा, स्रेस्ता र नक्सा अद्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्नसमेत निर्देशन दिएको छ।
यस निर्देशनको दायरामा वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताललगायत देशभरका प्रमुख स्वास्थ्य संस्थाहरू परेका छन्।
अस्पतालका सम्पत्ति संरक्षण गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ।

पालिका संचारकर्मी 







