नेपाल ‘ए’ ले अमेरिकालाई २६५ रनको लक्ष्य दियो, जोरा शतक
काठमाडौँ— एकदिवसीय अभ्यास शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई २६५ रनको लक्ष्य दिएको छ।
माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २६४ रन बनायो। टोलीका लागि सन्दीप जोराले उत्कृष्ट शतक प्रहार गरे। उनले ११५ बलमा १११ रनको योगदान दिए। अमेरिकाका सौरभ नेत्रभाल्करले ३ विकेट लिए।
यसअघि नेपाल ‘ए’ ले जारी शृङ्खलाका तीन वटै खेल जितेको थियो। पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले, दोस्रो खेलमा अमेरिकालाई ३ विकेटले र तेस्रो खेलमा स्कटल्यान्डलाई डीएलएस नियमका आधारमा ९ रनले पराजित गरेको थियो।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरूप नेपाल भ्रमणमा रहेका अमेरिका र स्कटल्यान्डसँग नेपाल ‘ए’ ले यो अभ्यास शृङ्खला खेलेको हो। लिग–२ शृङ्खला यही वैशाख २९ देखि जेठ ८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

पालिका संचारकर्मी 







