प्रतिनिधिसभामा ८ अध्यादेशको प्रतिस्थापन प्रक्रिया सुरु
काठमाडौँ— प्रतिनिधिसभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरिएको छ। सिंहदरबारस्थित संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ती अध्यादेश प्रतिस्थापन विधेयकहरू प्रस्तुत गरिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले तीन वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक पेस गर्नुभयो। उहाँले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ का प्रतिस्थापन विधेयक पेस गर्नुभयो।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नुभयो। कानुन मन्त्री गौतमले नै ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पनि प्रस्तुत गर्नुभयो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नुभयो भने स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नुभयो।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ प्रतिनिधिसभामा पेस गर्नुभयो।
संसदमा अध्यादेश प्रतिस्थापन विधेयक पेस भएसँगै अब ती कानुनलाई नियमित विधायी प्रक्रियाबाट अनुमोदन गर्ने प्रक्रिया अघि बढेको छ।

पालिका संचारकर्मी 







