मकवानपुर बजारमा पारदर्शिता बढाउन मूल्यसूची अनिवार्य गर्ने निर्णय

पालिका संचारकर्मी
२८ बैशाख २०८३, सोमबार १२:५५

हेटौँडा— जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभरका होटल, रेस्टुरेन्ट, किराना पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा मूल्यसूची अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। सो निर्णय कार्यान्वयनका लागि सोमबारदेखि नै विशेष अनुगमन सुरु गरिएको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीका अनुसार एक सातासम्म मूल्यसूची राखिएको छ वा छैन भन्ने विषयमा कडाइका साथ अनुगमन गरिनेछ। उहाँले नेपाल सरकारले मूल्यसूची अनिवार्य गर्ने सम्बन्धी कार्यविधि तयार गरिसकेको उल्लेख गर्दै मकवानपुरमा पनि सो व्यवस्था प्रभावकारी रूपमा लागू गरिने बताउनुभयो।

प्रशासनले होटल, रेस्टुरेन्ट, चिया पसलदेखि विभिन्न व्यावसायिक प्रतिष्ठानमा मूल्यसूची स्पष्ट रूपमा टाँस्नुपर्ने व्यवस्था गरिएको जनाएको छ। उपभोक्ताले मूल्यबारे स्पष्ट जानकारी नपाउँदा मनपरी शुल्क लिने र ठगी हुने गुनासो बढेपछि यो कदम चालिएको हो।

मूल्यसूची नराख्ने वा उपभोक्तालाई भ्रममा पार्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि प्रशासनले दिएको छ। बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिने प्रशासनले जनाएको छ।