इप्पानद्वारा बजेटका लागि ५३ बुँदे सुझाव, ऊर्जा क्षेत्र सुधारमा जोड
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा नीति कार्यक्रमका लागि सरकारसमक्ष ५३ बुँदे सुझाव पेस गरेको छ।
आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्की ले ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट नीति तथा लगानीमैत्री वातावरण आवश्यक रहेकोमा जोड दिए।
इप्पानले सरकारले अघि सारेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउनुपर्ने, विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने तथा प्रसारण लाइन पहुँच सहज बनाउनुपर्ने सुझाव दिएको छ।
त्यसैगरी धितोपत्र बोर्डमार्फत आईपीओ निष्कासन प्रक्रियालाई छिटो बनाउने, ऊर्जा आयोजनामा शान्तिसुरक्षाको व्यवस्था सुदृढ गर्ने लगायतका विषय पनि सुझावमा समेटिएका छन्।
भेटमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रलाई अर्थतन्त्र चलायमान बनाउने प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताउँदै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पालिका संचारकर्मी 







