देशका ५७ ग्यास उद्योगले पाए ‘एनएस’ गुणस्तर प्रमाणपत्र
नेपालभर सञ्चालनमा रहेका ५९ ग्यास उद्योगमध्ये ५७ वटा एलपी ग्यास बोटलिङ प्लान्टले नेपाल गुणस्तर (एनएस) प्रमाणिकरण प्राप्त गरेका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार ती उद्योगहरूले सरकारले तोकेको सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेपछि इजाजतपत्र पाएका हुन्।
विभागले सार्वजनिक गरेको विवरणअनुसार प्रमाणित उद्योगहरूले ग्यास सिलिन्डर परीक्षण, बोटलिङ प्रक्रिया तथा सुरक्षा व्यवस्थामा सरकारी मापदण्ड ‘एनएस ५३३’ पालना गरेका छन्।
उद्योगहरूको इजाजतपत्रको वैधता अवधि भने फरक–फरक रहेको छ। अधिकांश उद्योगले २०८३ देखि २०८५ सालसम्मका लागि इजाजतपत्र नवीकरण गरिसकेका छन्।
सरकारले पछिल्लो समय गुणस्तर चिन्ह अनिवार्य गरेपछि ग्यास उद्योगहरूले आफ्नो प्लान्टलाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन लगानी बढाएको विभागको भनाइ छ।
एनएस चिन्ह प्राप्त उद्योगबाट उत्पादित ग्यास सिलिन्डर सुरक्षित हुने तथा तौलमा ठगीको सम्भावना न्यून रहने विश्वास गरिएको छ। विभागले नियमित अनुगमन गर्दै मापदण्ड पूरा नगर्ने उद्योगको इजाजतपत्र निलम्बन वा खारेज गर्ने चेतावनीसमेत दिएको छ।

पालिका संचारकर्मी 






