बानियाँमाथिको अनुसन्धानमा कांग्रेसको धारणा– ‘राजनीतिक पूर्वाग्रह होइन, विधिअनुसार अघि बढोस्’
पालिका संचारकर्मी
नेपाली कांग्रेसले ईन्द्रबहादुर बानियाँमाथि भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै अनुसन्धान प्रक्रिया निष्पक्ष, प्रमाणमा आधारित र विधिसम्मत हुनुपर्ने जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न उठ्नु स्वाभाविक भए पनि त्यसको निष्कर्ष राजनीतिक पूर्वाग्रह, हल्ला वा प्रचारबाजीका आधारमा नभई कानुनी प्रक्रिया र तथ्यका आधारमा हुनुपर्ने बताएका छन्। उनले राज्यका निकायले आफ्नो अधिकार प्रयोग गर्दा निष्पक्षता, पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसले कानुनको दृष्टिमा सबै नागरिक समान हुने र अनुसन्धानमा सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गरेको छ। पार्टीले मुख्यमन्त्री बानियाँले अनुसन्धानमा पूर्ण सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको उल्लेख गर्दै त्यसलाई लोकतान्त्रिक संस्कार र राजनीतिक परिपक्वताको उदाहरणका रूपमा व्याख्या गरेको छ। कांग्रेसले अनुसन्धान गर्ने निकायहरूले ‘उचित कानुनी प्रक्रिया’ पालना गर्नुपर्ने र कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा पनि दोहोर्याएको छ। साथै सरकारका सबै कदम चयनात्मक नभई कानुनअनुसार अघि बढ्नुपर्नेमा पार्टीले ध्यानाकर्षण गराएको छ।








