तीन दिनपछि सञ्चालनमा आयो बिपी राजमार्ग

पालिका संचारकर्मी
२४ बैशाख २०८३, बिहीबार ११:१०

बिपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको राजमार्गमा अस्थायी डाइभर्सन निर्माण गरेपछि आज बिहानदेखि सवारी आवागमन खुलाइएको हो।

जिल्ला प्रहरी कार्यालयले लगातार वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। गत सोमबार परेको अविरल वर्षासँगै आएको बाढीले राजमार्ग अवरुद्ध बनेको थियो।

प्रहरीका अनुसार वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर भागमा बनाइएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने जोखिम रहने भएकाले आवश्यकता अनुसार आवागमन रोक्ने गरिएको छ।

राजमार्ग बन्द हुँदा सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार तथा नेपालथोक क्षेत्रमा रोक्ने व्यवस्था गरिएको थियो।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको थियो। हाल प्रभावित क्षेत्रमा सडक पुनर्निर्माणको काम जारी छ।