“किसानको बाली जोगाउन बँद मार्ने प्रस्ताव, संसदमा बहस”

पालिका संचारकर्मी
२३ बैशाख २०८३, बुधबार १६:४७

“काठमाडौं, वैशाख २३ — जंगली बँदेल नियन्त्रणको विषयमा सांसदहरूबीच प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भनाभन भएको छ। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले किसानको बालीनाली जोगाउन जंगली बँदेल मार्न दिनुपर्ने प्रस्ताव राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले त्यसको प्रतिवाद गरेकी हुन्।

बैठकमा पोखरेलले बँदेलका कारण कृषकहरू ठूलो मारमा परेको उल्लेख गर्दै नियन्त्रणका लागि मार्न दिनुपर्ने धारणा राखेका थिए। त्यसको प्रतिवाद गर्दै तामाङले वन्यजन्तु मार्ने उपाय उचित नभएको भन्दै वैकल्पिक समाधान खोज्नुपर्नेमा जोड दिइन्। उनीहरूबीच केहीबेर सवाल–जवाफ समेत भएको थियो।

तामाङले विदेशको उदाहरण दिँदै जर्मनीमा जंगली जनावर नियन्त्रणका लागि इलेक्ट्रोनिक तारबार जस्ता उपाय अपनाइने बताइन्। पोखरेलले भने बँदेलका कारण मानवीय क्षति हुने अवस्था आएको भन्दै कडा कदम आवश्यक भएको तर्क गरेका थिए।

सांसदहरूबीचको बहस लम्बिएपछि समिति सभापति अशोककुमार चौधरीले हस्तक्षेप गरी छलफल रोकेका थिए। त्यसपछि सांसद सागर ढकालले समस्या उठाउँदा समाधानसहित अध्ययन गरेर प्रस्तुत हुनुपर्ने आवश्यकता औंल्याउँदै बँदेल र बाँदर नियन्त्रणका उपायबारे अनुसन्धान गरी कार्यान्वयनमा जानुपर्ने बताए।”