बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा, कारोबार र कागजात जाँच सुरु
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले सोमबार उनको निवास र व्यवसायिक कार्यालयमा एकैसाथ अनुसन्धान अघि बढाएको हो।
हेटौंडाको सानोपोखरीस्थित बानियाँ निर्माण सेवा (बीएनएस) कार्यालय र त्यही रहेको उनको घरमा छापा मारेर कागजातहरू नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। अनुसन्धान टोलीले आवश्यक कागजात र प्रमाण संकलन गरी मुचुल्का समेत तयार पारेको बताइएको छ।
यसैबीच, काठमाडौंको नक्साल र सुन्धारास्थित स्थानहरूमा पनि विभागले छानबिन गरेको स्रोतको दाबी छ। प्रारम्भिक अनुसन्धानमा अस्वाभाविक आर्थिक गतिविधि देखिएपछि थप अध्ययन अघि बढाइएको बताइएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ विगतमा निर्माण व्यवसायमा संलग्न थिए। हाल पनि विभिन्न व्यवसायिक कम्पनीमा उनको लगानी रहेको बताइन्छ।
सम्पत्ति शुद्धीकरण विभागले भने अनुसन्धान जारी रहेको र विस्तृत विवरण पछि सार्वजनिक गर्ने जनाएको छ।

पालिका संचारकर्मी 







