इरानले अमेरिकाको युद्धविराम प्रस्तावमा १४ बुँदे प्रतिक्रिया पठायो

पालिका संचारकर्मी
२० बैशाख २०८३, आईतवार ११:१७

तेहरानले अमेरिकाले अघि सारेको युद्धविराम प्रस्तावमा १४ बुँदे प्रतिक्रिया दिएको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी)सँग सम्बन्धित तस्निम समाचार एजेन्सीका अनुसार उक्त प्रतिक्रिया पाकिस्तानमार्फत मध्यस्थताका रूपमा पठाइएको हो।

तस्निमका अनुसार अमेरिकाले दुई महिनाको युद्धविराम प्रस्ताव गरेको थियो। तर इरानले भने ३० दिनभित्र समस्याको समाधान हुनुपर्ने र युद्धविराम मात्र होइन, सम्पूर्ण युद्धको अन्त्यमा ध्यान दिनुपर्ने धारणा राखेको छ।

इरानको प्रस्तावमा लेबनानसहित सबै मोर्चामा जारी संघर्ष अन्त्य गर्ने माग पनि समावेश गरिएको बताइएको छ। साथै, सैन्य आक्रमण नगर्ने सुनिश्चितता, इरान वरपर रहेका अमेरिकी सैनिक फिर्ता गर्ने, रोक्का सम्पत्ति फुकुवा गर्ने, प्रतिबन्ध हटाउने तथा स्ट्रेट अफ होर्मुजका लागि नयाँ संयन्त्र बनाउनेजस्ता विषय पनि उठाइएको छ।

यस विषयमा इरानी अधिकारीहरूले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्तावको समीक्षा गर्ने बताए पनि यसलाई स्वीकार गर्न कठिन हुने प्रतिक्रिया दिएका छन्।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले यो प्रस्ताव युद्धको स्थायी अन्त्यका लागि भएको दाबी गर्दै अब निर्णय अमेरिकाको हातमा रहेको बताएका छन्। उनका अनुसार अमेरिका अब कूटनीतिक बाटो रोज्ने कि टकराव जारी राख्ने भन्ने निर्णय गर्नुपर्ने अवस्थामा पुगेको छ।