ओसासुनामाथि जितसँगै बार्सिलोना उपाधिको संघारमा

पालिका संचारकर्मी
२० बैशाख २०८३, आईतवार ११:१५

स्पेनिस ला लिगामा बार्सिलोना उपाधिको संघारमा पुगेको छ। शनिबार राति ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले तालिकामा आफ्नो अग्रता अझ बलियो बनाएको हो।

हान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले लगातार १०औँ जित निकाल्दै शीर्ष स्थानमा १४ अंकको स्पष्ट बढत बनाएको छ। अब टोलीलाई च्याम्पियन बन्न मात्र दुई अंक आवश्यक रहेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोना आक्रामक बनेको थियो। रोबर्ट लेवान्डोस्कीले हेडमार्फत पहिलो गोल गरे भने त्यसपछि फेरान टोरेसले अग्रता दोब्बर बनाए। अन्त्यतिर ओसासुनाका राउल गार्सियाले एक गोल फर्काए पनि बार्सिलोनाले जित जोगायो।

अब बार्सिलोनाको उपाधि रियल मड्रिड र एस्पान्योलबीचको खेलमा निर्भर रहनेछ। उक्त खेलमा रियल मड्रिडले अंक गुमाएमा बार्सिलोना तत्काल च्याम्पियन बन्नेछ।

यदि रियल मड्रिड विजयी भएमा भने मे १० मा हुने एल क्लासिकोमा हार टारे मात्र पनि बार्सिलोनाले उपाधि सुनिश्चित गर्नेछ।