थाहा नगरपालिकामा सोमबार सार्वजनिक बिदा घोषणा

पालिका संचारकर्मी
२० बैशाख २०८३, आईतवार १०:५०

मकवानपुरको थाहा नगरपालिकामा वज्रवाराही (अजिमा) तीन वर्षे जात्राको अवसर पारेर वैशाख २१ गते सोमबार सार्वजनिक बिदा दिइने भएको छ। नगर कार्यपालिकाको निर्णयअनुसार स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले बिदा घोषणा गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले जारी गरेको सूचनामा ऐतिहासिक जात्रालाई महत्व दिँदै बिदा दिने निर्णय गरिएको उल्लेख छ। थाहा नगरपालिकाले विगतदेखि नै यस्ता सांस्कृतिक पर्वमा बिदा दिँदै आएको छ।

यसैबीच, थाहा नगरपालिका–६ स्थित वज्रवाराही क्षेत्रमा तीन वर्षमा एकपटक लाग्ने जात्रा सुरु भइसकेको छ। वैशाख पूर्णिमापछि पर्ने शनिबारबाट सुरु भएको जात्रा तीन दिनसम्म मनाइने परम्परा रहेको छ।

जात्राको पहिलो दिन गाउँ–गाउँबाट देवता ल्याई पिठमा स्थापना गरिन्छ भने दोस्रो दिन मुख्य पूजाआजा र बलि अर्पण गर्ने गरिन्छ। तेस्रो दिन देवताहरू पुनः गाउँ फर्काउने चलन छ। स्थानीय विश्वासअनुसार वज्रवाराहीको आराधनाले मानव कल्याण हुने मानिन्छ।

टिस्टुङ क्षेत्रको प्रमुख इष्टदेवताको रूपमा मानिने वज्रवाराहीलाई विशेष श्रद्धाका साथ पूजा गरिन्छ। काठमाडौँ उपत्यकालाई रक्षा गर्ने चार बाराहीमध्ये ललितपुरस्थित वज्रवाराहीसँग यस स्थानको धार्मिक सम्बन्ध जोडिने विश्वास पनि छ।

जात्रा व्यवस्थापन वडा कार्यालय र स्थानीय गुठी समितिले गर्दै आएका छन्। हरेक तीन वर्षमा आयोजना हुने यो पर्वमा आसपासका क्षेत्रसहित काठमाडौँ उपत्यकाबाट समेत भक्तजनको उल्लेख्य सहभागिता रहने गरेको छ।