लिपुलेक मार्ग हुँदै भारतद्वारा कैलाश मानसरोवर यात्रा खुला, नेपालले दाबी गरेको क्षेत्रमा पुनः विवाद

पालिका संचारकर्मी
१८ बैशाख २०८३, शुक्रबार १५:१४

भारतले चीनको समन्वयमा सन् २०२६ का लागि कैलाश मानसरोवर यात्राको औपचारिक घोषणा गर्दै आवेदन खुला गरेको छ। यस वर्षको यात्रा जुनदेखि अगस्टसम्म सञ्चालन हुने र २० वटा समूहमा विभाजन गरी तीर्थयात्री पठाइने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

घोषणाअनुसार १० वटा समूह उत्तराखण्ड हुँदै लिपुलेक भञ्ज्याङ मार्गबाट र १० वटा समूह सिक्किम हुँदै नाथु ला भञ्ज्याङ मार्गबाट यात्रा गर्नेछन्। प्रत्येक समूहमा ५० जना तीर्थयात्री रहने व्यवस्था गरिएको छ। यात्रामा सहभागी हुन इच्छुकहरूले अनलाइन आवेदन दिन सक्नेछन् भने अन्तिम मिति मे १९ तोकिएको छ।

तर, भारतले प्रयोगमा ल्याएको लिपुलेक मार्ग नेपालले आफ्नो नक्सामा समेटेको क्षेत्रभित्र पर्ने विषय फेरि विवादमा आएको छ। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर आधिकारिक नक्सा जारी गर्दै आएको छ।

लिपुलेक भञ्ज्याङ नेपालको दाबीअनुसार पश्चिमी सीमा लिम्पियाधुराबाट करिब ५६ किलोमिटरभित्र पर्छ। यो क्षेत्र कालापानी क्षेत्रमा पर्ने तीन गाउँमध्ये एक मानिने पुलाङ–गुञ्जी क्षेत्र हो, जुन हाल भारतीय नियन्त्रणमा रहेको छ।