रोल्पा–रुकुमपूर्व जिप दुर्घटना: एकै परिवारका ७ सहित २० जनाको ज्यान गयो
रोल्पाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये १२ जना महिला, ४ जना पुरुष र ४ जना बालबालिका रहेका छन्।
दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–५ टाकुराका एकै परिवारका ७ जनाको ज्यान गएको पुष्टि भएको छ। वडाध्यक्ष बीरेन्द्र बस्नेतका अनुसार, दुई दाजुभाइको परिवारका सदस्यहरू दुर्घटनामा परेका हुन्।
घटनामा दाजुको परिवारबाट छोरा, बुहारी, श्रीमती र नाति गरी ४ जनाको मृत्यु भएको छ भने भाइको परिवारबाट श्रीमती, छोरी र छोरा गरी ३ जनाको ज्यान गएको हो।
जिप करिब ८ सय मिटर तल खसेको थियो। पानी परिरहेको र रात परेकाले उद्धार कार्य बिहीबार रोकिएको थियो भने शुक्रबार बिहानदेखि पुनः सुरु गरिएको हो। शवहरू संकलन गरी थवाङतर्फ लगिएको छ र सबैको पहिचान त्यहाँ पुगेपछि हुने बताइएको छ।
दुर्घटनामा रुकुमपूर्व सिस्ने–५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन्, जसलाई राति नै अस्पताल पठाइएको छ।

पालिका संचारकर्मी 






