सांसद हरी पन्त सवार गाडी दुर्घटना, दुई युवक घाइते

पालिका संचारकर्मी
१७ बैशाख २०८३, बिहीबार १५:११

पर्सा क्षेत्र नम्बर–१ का सांसद हरी पन्त सवार गाडी बारा जिल्लामा दुर्घटनामा परेको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवक घाइते भएका छन्।

बुधबार साँझ करिब ४ बजे वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा.१६ च ८२०६ नम्बरको कार जीतपुर सिमरा–७ स्थित गढीमाई मन्दिर नजिक विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कलैया–७ का २० वर्षीय नवलकिशोर यादव र कलैया–१३ का १७ वर्षीय जितेन्द्र यादव घाइते भएका छन्। कार चालक वीरगञ्ज–११ का मोहनलाल राउत रहेको प्रहरीले जनाएको छ।

घाइते दुवैलाई सांसद पन्तले आफ्नै गाडीमा हालेर सिमरास्थित अस्पताल पुर्‍याएका थिए। उपचारपछि एक जना घर फर्किसकेको र अर्काको उपचार जारी रहेको बताइएको छ।

प्रहरीका अनुसार दुवै पक्षबीच सहमति भएपछि कार सांसद पन्तले जिम्मामा लगेका छन् भने मोटरसाइकल प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ।