सरकारी खरिदले किसान खुसी, कृषि क्षेत्रमा सकारात्मक प्रभाव
कैलालीका किसान यस वर्ष गहुँ राम्रो मूल्यमा बिक्री गर्न पाउँदा उत्साहित भएका छन्। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी दरमा खरिद सुरु भएपछि किसानले राहत महसुस गरेका हुन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड को धनगढीस्थित प्रादेशिक कार्यालयले टीकापुर र धनगढीबाट गहुँ खरिद अभियान सुरु गरेको छ। कम्पनीले प्रतिक्विन्टल ३,९४५ रुपैयाँ समर्थन मूल्य भए पनि ४,२५० रुपैयाँमा खरिद गरिरहेको जनाएको छ।
कम्पनीका अनुसार यस कदमले किसानलाई प्रत्यक्ष लाभ पुगेको छ। किसानहरूले बजारभन्दा राम्रो मूल्य पाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि केही किसानले भने समयमै बिक्री गर्न नसक्दा कम मूल्यमा गहुँ बेच्नुपरेको गुनासो पनि गरेका छन्।
कम्पनीले यस वर्ष कैलालीबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ।

पालिका संचारकर्मी 






