बाख्राको मासु खसी भन्दै बेच्नेविरुद्ध कडा कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी
वीरगन्ज,१७ वैशाख । वीरगन्ज महानगरपालिका ले उपभोक्तालाई झुक्याएर बाख्राको मासुलाई खसी वा बोका भन्दै बिक्री गर्ने मासु पसलमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय वीरगन्जका विभिन्न मासु पसलहरूमा बाख्राको मासुलाई खसीको मासु भन्दै बिक्री भइरहेको गुनासो उपभोक्ताबाट बढेपछि महानगरले ध्यानाकर्षण भएको जनाएको हो।
महानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले जारी गरेको सूचनामा उपभोक्ताको अधिकार संरक्षण, खाद्य स्वच्छता र व्यापारिक आचारसंहिता कायम राख्नु सबै व्यवसायीको जिम्मेवारी भएको उल्लेख छ।
सूचनामा मासु व्यवसायीहरूलाई मासुको सही पहिचान खुलाएर मात्र पारदर्शी रूपमा बिक्री–वितरण गर्न निर्देशन दिइएको छ। साथै कुनै पनि किसिमको मिसावट, झुक्याउने वा भ्रामक गतिविधि नगर्न कडा आग्रह गरिएको छ।
महानगरले यस्ता गैरकानुनी गतिविधि भेटिएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरिने स्पष्ट चेतावनी समेत दिएको छ।

पालिका संचारकर्मी 






