दुई दिने बिदा निर्णयलाई शिक्षक महासङ्घको समर्थन

पालिका संचारकर्मी
१७ बैशाख २०८३, बिहीबार १२:५८

नेपाल शिक्षक महासङ्घ ले शिक्षण संस्थामा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने सरकारी निर्णयको समर्थन गरेको छ। महासङ्घले विज्ञप्ति जारी गर्दै उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षसँग आग्रह गरेको हो।

नेपाल सरकार ले पेट्रोलियम आपूर्तिमा समस्या देखिएपछि चैत २३ गतेदेखि सरकारी कार्यालय र शिक्षण संस्थामा दुई दिन बिदा लागू गरेको थियो। यसअनुसार कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

महासङ्घले नयाँ बिदा प्रणालीअनुसार पठनपाठन व्यवस्थापन गर्न आवश्यक पहल गर्नुपर्ने बताउँदै शिक्षकका विभिन्न समस्या समाधान हुने गरी विद्यालय शिक्षा ऐन छिटो ल्याउन पनि माग गरेको छ। साथै, केही जिल्लामा शिक्षक दरबन्दी कटौती र सरुवाका विषयमा देखिएका समस्याप्रति चिन्ता व्यक्त गरिएको छ।