बागमती गोल्डकपको खेल तालिका सार्वजनिक

पालिका संचारकर्मी
१६ बैशाख २०८३, बुधबार १२:४०

मकवानपुरको बागमती गाउँपालिका मा आयोजना हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको विस्तृत तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बिहीबार दिउँसो ३:३० बजे बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने तय गरिएको छ।

अन्य खेलहरूमा वैशाख १८ गते त्रिभुवन आर्मी क्लब र बाराको नव जनजागृति क्लब भिड्नेछन् भने १९ गते एपीएफ क्लब र चित्लाङ एफसी आमनेसामने हुनेछन्। २० गते बाई पाएको चर्च ब्वाइज युनाइटेड ले आयोजक र बागमती युथ क्लबबीचको विजेतासँग खेल्नेछ।

त्यसैगरी २१ गते फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। २२ गते बाई पाएको मछिन्द्र क्लब ले एपीएफ र चित्लाङबीचको विजेतासँग खेल्ने तालिका छ।

प्रतियोगिताको सेमिफाइनल खेलहरू वैशाख २३ र २४ गते हुनेछन् भने फाइनल खेल वैशाख २६ गते आयोजना गरिनेछ। प्रतियोगितामा आयोजकसहित १० टोलीको सहभागिता रहनेछ।

विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वडाध्यक्ष कमान सिं पाख्रीन, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल तथा आयोजक समितिका उपाध्यक्ष मुक्ति लामा लगायतको उपस्थिति रहेको थियो।