वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पाको निधन

पालिका संचारकर्मी
१६ बैशाख २०८३, बुधबार १२:३७

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पा को मंगलबार निधन भएको छ। उनको निधनप्रति चलचित्र विकास बोर्ड ले गहिरो दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ।

लामो समयदेखि नेपाली फिल्म उद्योगमा सक्रिय शेर्पाले ‘दौतरी’, ‘राजु राजाराम’, ‘सावधान’, ‘को आफ्नो को विरानो’, ‘मुग्लान’, ‘चोर सिपाही’, ‘ए मेरो हजुर’, ‘कोहिनूर’, ‘शासन’, ‘हिफाजत’ र ‘क्रोध’ जस्ता चर्चित चलचित्रहरूमा कला निर्देशक तथा कलाकारका रूपमा महत्वपूर्ण योगदान दिएका थिए।

चलचित्रको दृश्य–सौन्दर्य, कला निर्माण तथा रचनात्मक अभिव्यक्तिमा उनको भूमिका उल्लेखनीय रहेको बोर्डले जनाएको छ। उनको कामले नेपाली चलचित्रलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गरेको बताइएको छ।

बोर्डले शोक सन्देशमा शेर्पालाई सरल, मेहनती र सबैका प्रिय व्यक्तित्वका रूपमा सम्झिएको छ। उनको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै सम्पूर्ण चलचित्रकर्मीप्रति समवेदना व्यक्त गरिएको छ।