वैशाख १५ देखि ३० सम्म पोषण जाँच अभियान, अभिभावकलाई सहभागिताको आग्रह

पालिका संचारकर्मी
१६ बैशाख २०८३, बुधबार १२:३४

“समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार” भन्ने मूल नाराका साथ सरकारले देशव्यापी १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सञ्चालन गरेको यो अभियान वैशाख १५ देखि सुरु भई वैशाख ३० सम्म ७५३ वटै स्थानीय तहमा लागू हुनेछ।

अभियानको मुख्य उद्देश्य ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा कुपोषणको अवस्था पहिचान गरी शीघ्र तथा मध्यम जोखिममा रहेका बालबालिकालाई समयमै उपचार र आवश्यक सेवा उपलब्ध गराउनु हो। यसमार्फत देशभर कुपोषणको वास्तविक अवस्था पत्ता लगाई उच्च, मध्यम र न्यून जोखिम भएका क्षेत्रहरूको वर्गीकरण गरिनेछ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी का अनुसार, प्राप्त तथ्याङ्कका आधारमा लक्षित पोषण कार्यक्रम निर्माण गर्न सहयोग पुग्नेछ। अभियानअन्तर्गत स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा पोषण परीक्षण गरिनेछ।

प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो क्षेत्रमा रहेका बालबालिकाको विवरण संकलन गर्दै आवश्यक स्वास्थ्यकर्मी, उपकरण र सामग्रीको व्यवस्थापनसहित सूक्ष्म योजना तयार गर्नेछन्। अभियानबारे जानकारी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, रेडियो तथा स्थानीय सञ्चारमाध्यममार्फत समुदायसम्म पुर्‍याइनेछ।

पोषण परीक्षणका लागि डिजिटल तौल मेसिन, उचाइ तथा लम्बाइ मापन बोर्ड र पाखुराको घेराइ नाप्ने टेप प्रयोग गरिनेछ। मन्त्रालयले सबै अभिभावकलाई आफ्ना ६–५९ महिनाका बालबालिकाको पोषण जाँच गराई अभियान सफल बनाउन आग्रह गरेको छ।