विशेष बुलेटिन जारी: आज ४ बजेदेखि भोलि बिहानसम्म मौसम प्रतिकूल
आजदेखि देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले विशेष बुलेटिन जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार बुधबार अपराह्नदेखि सुरु हुने हावाहुरी बिहीबार बिहानसम्म जारी रहन सक्नेछ। यस अवधिमा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा तीव्र गतिको हावा चल्ने सम्भावना रहेको जनाइएको छ।
विशेषगरी कञ्चनपुर, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा र मोरङ जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ। ती क्षेत्रमा मेघगर्जन, चट्याङ्ग, असिना तथा वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ।
मौसमविद्हरूका अनुसार हाल पश्चिमबाट पूर्वतिर सर्दै गरेको मौसम प्रणालीका कारण यसको प्रभाव देशभरका धेरै स्थानमा पर्ने देखिएको छ। सर्वसाधारणलाई विशेष गरी खुला स्थानमा नबस्न, कमजोर संरचना तथा रुखमुनि नजान र आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

पालिका संचारकर्मी 






