सर्लाहीको लालबन्दीमा जंगली बँदेलको आक्रमण, ३२ वर्षीय पुरुषको मृत्यु

पालिका संचारकर्मी
१४ बैशाख २०८३, सोमबार १३:२७

सर्लाही — जंगली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ।

लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को बँदेलको आक्रमणपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार घाइते थिङलाई उपचारका लागि लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ।

स्थानीयका अनुसार जंगली बँदेलले खेतमा लगाइएको मकैमा क्षति पुर्‍याउँदै आएको थियो। त्यसको निगरानीका लागि थिङ केही दिनदेखि राति खेतमै बस्दै आएका थिए।