‘नेपाल मेडिकल तथा ल्याब एक्स्पो–२०२६’ वैशाख १७ देखि काठमाडौंमा, २०० भन्दा बढी स्टल रहने

पालिका संचारकर्मी
१४ बैशाख २०८३, सोमबार १३:२१

काठमाडौं — ‘नेपाल मेडिकल तथा ल्याब एक्स्पो–२०२६’ आगामी वैशाख १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। तीन दिनसम्म चल्ने यस प्रदर्शनीको नवौं संस्करण एसडी प्रोमो मिडियाले केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाल (केमसान)सँगको सहकार्यमा आयोजना गर्न लागेको हो।

आयोजकका अनुसार एक्स्पोमा नेपालसहित भारत र अन्य देशका गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अत्याधुनिक प्रविधि, उपकरण, उत्पादन तथा नवीन आविष्कारहरू प्रस्तुत गरिनेछ। साथै विश्वस्तरका मेडिकल टेक्नोलोजी, डायग्नोस्टिक प्रणाली र प्रयोगशाला सेवासम्बन्धी सामग्रीहरू पनि अवलोकन गर्न सकिनेछ। करिब ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र एक हजारभन्दा बढी उत्पादन तथा सेवाहरू प्रदर्शनीमा समावेश हुने जनाइएको छ।

केमसानका अध्यक्ष भक्त हमालका अनुसार एक्स्पोले स्वास्थ्य सेवा, औषधि उद्योग र अनुसन्धान संस्थाहरूमा प्रयोग हुने सामग्रीबारे जानकारी दिनेछ। उनका अनुसार यसले नयाँ प्रविधि र उत्पादनको जानकारीसँगै खरीदकर्ता र आपूर्तिकर्ताबीच व्यापार विस्तारको अवसर पनि सिर्जना गर्नेछ। साथै स्वास्थ्य क्षेत्रका पेशाकर्मीहरूबीच अनुभव आदानप्रदान गर्ने प्लेटफर्म पनि बन्ने अपेक्षा गरिएको छ।

एचडी प्रोमो मिडिया प्रालिका परियोजना प्रमुख अनुरोध परासरले यस वर्षको संस्करण अघिल्ला वर्षभन्दा ठूलो र फरक हुने बताएका छन्। उनका अनुसार साना तथा ठूला कम्पनीलाई आफ्ना उत्पादन र सेवाहरू व्यापक रूपमा प्रस्तुत गर्ने अवसर मिल्नेछ।

प्रदर्शनीमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मो फिसर साइन्टिफिक, ह्युमन डायाग्नोस्टिक, ड्रागर लगायतका विश्वप्रसिद्ध ब्रान्डहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

नेपालमा केमिकल, मेडिकल उपकरण तथा प्रयोगशाला सामग्रीहरूको वार्षिक कारोबार २० अर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ। यस्तो प्रदर्शनीले स्वास्थ्य क्षेत्रको प्रविधि विकास र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।