४५% विद्यार्थी भाडा छुट अनिवार्य लागू गर्न सरकारको निर्देशन
सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइँदै आएको भाडा छुट कडाइका साथ लागू गर्न पुनः निर्देशन दिएको छ। यातायात व्यवस्था विभाग ले यातायात व्यवसायीहरूलाई पत्राचार गर्दै ४५ प्रतिशत विद्यार्थी भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न ताकेता गरेको हो।
सरकार र यातायात व्यवसायीबीच वि.सं. २०६५ फागुन २० मा भएको सहमतिअनुसार विद्यार्थीले सार्वजनिक सवारीमा ४५ प्रतिशत भाडा सहुलियत पाउने व्यवस्था छ। तर पछिल्लो समय धेरै सवारी साधनले यो सुविधा नदिएको भन्दै व्यापक गुनासो आएपछि विभाग पुनः सक्रिय बनेको हो।
‘हेलो सरकार’ तथा विभागको गुनासो प्रणालीमा विद्यार्थीहरूबाट लगातार उजुरी परेपछि यस विषयलाई गम्भीर रूपमा लिइएको बताइएको छ। सोही आधारमा विभागले कार्यान्वयनमा कमजोरी देखिएका ठाउँमा सुधार गर्न यातायात व्यवसायीहरूलाई निर्देशन दिएको हो।
विभागका निर्देशक गणेशमान सिं राई द्वारा जारी पत्रमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात लाई सहुलियत प्रभावकारी बनाउन भनिएको छ।
सरकारले तोकेको छुट कार्यान्वयन नगर्ने सवारी साधनलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिएको छ।

पालिका संचारकर्मी 






