मनहरीमा १७ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ

पालिका संचारकर्मी
९ बैशाख २०८३, बुधबार ११:२३

मकवानपुरमा लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्। मनहरी गाउँपालिका–९ स्थित च्यानडाँडा क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सुबास मोक्तान (२३), राक्सिराङ गाउँपालिका–२ का बासिन्दा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार घटना वैशाख ७ गते साँझ करिब ५ बजे भएको हो। इलाका प्रहरी कार्यालय मनहरी बाट खटिएको गस्ती टोलीले हरियाली सामुदायिक वन क्षेत्रको सडकमा सवारी जाँच गर्ने क्रममा शंकास्पद स्कुटर रोकेको थियो।

भावरबाट खरंगा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ७०८० नम्बरको स्कुटर जाँच गर्दा करिब १७.५४६ केजी गाँजा लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।