‘पहाड’ले देशको यथार्थ चित्रण गरेको सेलिब्रिटीहरूको प्रतिक्रिया
वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’ ले नेपालको समसामयिक सामाजिक र आर्थिक अवस्थालाई गहिरो रूपमा चित्रण गरेको भन्दै चलचित्रकर्मी तथा सेलिब्रिटीहरूले प्रशंसा गरेका छन्।
सोमबार साँझ आयोजित विशेष प्रदर्शनीपछि संगीतकार शम्भुजित बाँस्कोटाले फिल्मले देशको यथार्थ अवस्था उजागर गरेको बताए। उनका अनुसार फिल्मले बेरोजगारी, खाली हुँदै गएका पहाड र युवाको विदेश पलायनजस्ता संवेदनशील विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि ‘पहाड’ पारिवारिक रूपमा हेर्न मिल्ने सन्देशमूलक फिल्म भएको टिप्पणी गरे। उनले फिल्मले युवालाई गाउँ फर्कन प्रेरित गर्ने महत्वपूर्ण सन्देश दिएको बताए।
निर्देशक तुलसी घिमिरेले दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको बताए। उनका अनुसार फिल्मले भन्न खोजेको सन्देश दर्शकले राम्रोसँग बुझेकामा उनी सन्तुष्ट छन्।
अभिनेता विपिन कार्कीले फिल्मप्रति दर्शकको प्रतिक्रिया उत्साहजनक रहेको भन्दै आगामी दिनमा दर्शकको उपस्थिति अझ बढ्ने विश्वास व्यक्त गरे। अभिनेता रवीन्द्र सिंह बानियाँले भने तुलसी घिमिरेसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो उपलब्धि भएको बताए।
फिल्ममा विपिन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी र नवअभिनेत्री पञ्चमी घिमिरेलगायतको अभिनय रहेको छ। फिल्मले खासगरी युवा जनशक्ति विदेश पलायन हुँदा पहाडी क्षेत्र खाली हुँदै गएको र त्यसले निम्त्याएको सामाजिक–आर्थिक असरलाई केन्द्रमा राखेको छ।
भाग्यरत्न फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको ‘पहाड’ मा संगीत, छायांकन, नृत्य र सम्पादनसम्म अनुभवी प्राविधिकहरूको योगदान रहेको छ। निर्देशक घिमिरेकी छोरी पञ्चमी घिमिरेले यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी छन् भने प्रोडक्सन डिजाइनमा जेठी छोरी भावना घिमिरे पनि संलग्न छन्।

पालिका संचारकर्मी 






